एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको मिति २०७७ अषाढ १४ गते आईतवारका दिन संचालक समितिका अध्यक्ष श्री महेन्द्र कुमार गोयलको अध्यक्षतामा चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभाले आ.व.२०७५/०७६ को वितरण योग्य संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु ६९ करोड २६ लाख ७४ हजारको १७.१० प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयर वापतको कर प्रयोजनको लागि ०.९० प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रस्तावित बोनश शेयर जारी भई कायम हुने चुक्ता शेयर पूँजी रु ८१,११,२१,२२४।७२ (अक्षरेपि एकासी करोड एघार लाख एक्काईस हजार दुई सय चौविस पैसा वहत्तर माात्र) को ३० प्रतिशतका दरले रु २४,३३,३६,३६७।४२ (अक्षरेपि चौविस करोड तेत्तिस लाख छत्तिस हजार तिन सय सडसट्ठी पैसा बयालिस मात्र) को हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
आ.व. २०७५।०७६ मा रु १६ करोड ८४ लाख ७७ हजार मुनाफा गर्न सफल यस वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु ७ अर्व ८४ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ९ अर्व २६ करोड गरेको छ । झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ्ग, सुनसरी र पाँचथरका विभिन्न ३७ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिंग सेवा प्रदान गरिरहेको छ भने आगामी आ.व.मा आफ्नो कार्यक्षेत्रभित्रका झापा, मोरङ र सुनसरी जिल्लामा थप नयाँ शाखाहरु स्थापना गर्ने र निकट भविष्यमा १ नम्बर प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।
सञ्चालक समितिका अध्यक्ष श्री महेन्द्र कुमार गोयलले उदघाट्न गर्नुभएको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक श्री हेमराज ढकालले गर्नुभएको थियो भने कार्यक्रम संचालन कम्पनी सचिव श्री श्याम बहादुर बोहोराले गर्नु भएको थियो । उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश कुमार पोखरेलले बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राख्नु भएको थियो भने संस्थापक शेयरधनीहरु श्री गणेश प्रसाद खनाल र श्री सुरेश कुमार अग्रवालले बैंकको उन्नती तथा प्रगतीकालागि शुभकामना मन्तव्य राख्नु भएको थियो ।