एक्सेल डेभलपमेन्ट बैंकद्वारा पीसीआर ल्याबका लागि ५ लाख एक हजार सहयोग

एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि सहयोग जुट्ने क्रम जारी छ ।

स्थापनाको छोटो अवधिमा सेवाग्राहीको मन जित्न सफल बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पीसीआर ल्याबका लागि ५ लाख एक हजार रुपैयाँ प्रदान गरेको छ ।

बिहीबार कोटीहोमस्थित ल्याव स्थलमा आयोजित एक कार्यक्रमकाबीच एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिनेश पोखरेल, बैंकका कर्जा असुली विभाग प्रमुख पंकज घिमिरेले उक्त रकमको चेक प्रदान गर्नुभयो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटी, एकका लागि एक अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक बिनोद बस्नेतले उक्त चेक ग्रहण गर्नुभएको थियो ।

सरकारलाई सहयोग पु-याउन सरकार–समुदाय–सहकारी अभियान–निजी क्षेत्रको साझेदारीमा मुलुकमै नयाँ मोडलका रुपमा पहिलोपटक स्थापित पीसीआर ल्याबको लागि सञ्चालन भएको अभियान उदाहरणीय भएको एक्सेलका सीईओ पोखरेलले बताउनु भयो । उहाँले भन्नुभयो– ‘म झापामा बस्न थालेको सात बर्ष मात्र भयो तर यहाँ सामाजिक संस्थाहरुकाबीच सहकार्यमा मुलुकमै नयाँ र राम्रो काम भइरहेको पाएँ, अभियानका संयोजक तथा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको नेतृत्वमा सञ्चालन भएका धेरैवटा अभियान सफल भइसकेका छन् र यो अभियान पनि मुलुकमै उदाहरणीय बनेको छ ।’

बिर्तामोड नगरका प्रमुख शिवाकोटीले एकका लागि एक अभियानबाट अनुकरणीय काम भएको भन्दै त्यस अभियानमा सहयोग पु¥याउने एक्सेल बैंकप्रति धन्यवाद ज्ञापन गर्नुभयो । अभियानका संयोजक गिरी र सहसंयोजक बस्नेतले एक्सेल बैंकको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।